काठमाडौँ । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव आज फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार गत वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनास्थित पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको हो।
सडेको अवस्थामा भेटिएको छन्त्यालको शवलाई उनका परिवारका सदस्यहरूले कपडाको आधारमा सनाखत गरेका थिए। पहिचान खुलेपछि शवलाई परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको बारे प्रहरीलाई जानकारी गराएका थिए।
जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घटनास्थलको आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी शव उठाएर परिवारको जिम्मा लगाएको हो।