काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी जिल्लामा समानुपातिकतर्फको मतगणना कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले सार्वजनिक गर्नुभएको विवरणअनुसार यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य स्थापित दलहरूलाई निकै पछाडि पार्दै सबैभन्दा बढी मत प्राप्त गरेको छ। रास्वपाले कुल १९ हजार ९८७ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको छ।
जिल्लामा दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ९ हजार ४५७ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस ७ हजार ५९४ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ४ हजार १६२ मत जोड्दा श्रम संस्कृति पार्टीले १ हजार ७१५ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ८४४ मत खसेको छ भने राष्ट्रिय मुक्ति पार्टीले ७६२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले १७७ मत मात्र प्राप्त गरेका छन्।
म्याग्दीमा यसपटकको निर्वाचन परिणाम निकै रोचक देखिएको छ, जहाँ प्रत्यक्षतर्फ प्रविधि र आविष्कारका क्षेत्रमा परिचित स्वतन्त्र उम्मेदवार महावीर पुन यसअघि नै निर्वाचित भइसकेका छन्। जिल्लामा समानुपातिकतर्फ कुल ४७ हजार २६१ मत खसेको थियो, जसमा १ हजार ७१० मत बदर भई ४५ हजार ९०६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार र समानुपातिकमा रास्वपाको यो लहरले म्याग्दीका मतदाताले राजनीतिक परिवर्तनको स्पष्ट सन्देश दिएको देखिन्छ।