सोह्र वर्षपछि म्याग्दीको पखेर–बरङ्जा सडक स्तरोन्नति, यात्रा अवधि आधा छोटियो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
790
Shares
काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई सदरमुकाम बेनीसँग जोड्ने पखेर–बरङ्जा सडक खण्डको मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ। गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरिएको पखेर–आलडाँडा खण्डको तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्ने कार्य सम्पन्न भएको हो।
निर्माण कम्पनीले विसं २०८१ असारमा ५ करोड ८६ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यो योजना निर्धारित १८ महिनाको समय सीमाभित्रै भौतिक रूपमा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटर चौडा बनाएर नाली र टेवा पर्खाल निर्माण गरिएको छ भने अप्ठ्यारा उकालो र घुम्तीहरूमा ५५० मिटर सडक ढलान गरी ग्रेड सुधार गरिएको छ।
सडक स्तरोन्नति भएपछि बरङ्जादेखि बेनी पुग्न लाग्ने एक घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको छ। यसअघि ३ देखि ३.५ मिटर मात्र फराकिलो रहेको साँघुरो र जोखिमपूर्ण कच्ची सडकमा जिप र ट्रयाक्टर चल्न समेत मुस्किल हुने गरेकामा अहिले १० चक्के ट्रक समेत सहजै गाउँ पुग्न थालेका छन्।
भिरालो पाखाका घुम्तीहरूमा गाडी पार गराउन पछाडि लैजानुपर्ने सास्ती हटेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। सडकको सहज पहुँचसँगै बरङ्जा क्षेत्रमा उत्पादित दूध, सुन्तला र तरकारी जस्ता कृषि उपजलाई बजारसम्म पुर्याउन निकै सजिलो भएको छ। स्थानीयले पखेरदेखि झाँक्रीपानीसम्मको बाँकी ११ किलोमिटर खण्डलाई पनि पूर्ण रूपमा स्तरोन्नति गर्न माग गरेका छन्।
भौतिक प्रगति उत्साहजनक भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीले अझै ८० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ। चालु आर्थिक वर्षमा विनियोजित १ करोड ३९ लाख रुपैयाँले सबै दायित्व पुरा गर्न नसक्दा निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरहरूलाई ज्याला दिन समस्या भएको निर्माण व्यवसायीको गुनासो छ। म्याग्दी १ (ख) का प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक मङ्गला गाउँपालिकाका विभिन्न वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्ने रणनीतिक महत्त्वको भएकाले यसको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ।