श्रीमान्ले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि ...
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
173
Shares
काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परेर एक महिलाको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताए।
गएराति करिब १:३० बजेको समयमा पासोमा परेर गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि तत्काल गुल्मी अस्पताल तम्घास ल्याइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नो घरभन्दा करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली बदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट नाङ्गो तारमार्फत करेन्ट प्रवाह गरेर छाडेका थिए।
आफ्नै भान्सा र बारी वरपर जङ्गली जनावरको आतङ्क रोक्न चालिएको यो आत्मघाती कदमले आफ्नै श्रीमतीको ज्यान लिएपछि प्रहरीले मृतकका श्रीमान् भेषराजलाई नियन्त्रणमा लिएको छ
। यस स्तब्धकारी घटनाका बारेमा थप अनुसन्धान गर्नका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगेर कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ।