गुल्मीमा बेमौसमी वर्षाको कहर: पाँच करोड बराबरको धानबाली नष्ट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
867
Shares
तम्घास। हालैको बेमौसमी वर्षाले गुल्मी जिल्लाका किसानहरूलाई ठूलो नोक्सानी पुर्याएको छ। जिल्लामा करिब रु पाँच करोड बराबरको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार यस वर्ष जिल्लाको सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो। तर, वर्षाका कारण एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ, जसको मूल्य सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा रु पाँच करोड हुन आउँछ।
गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको न्यौपानेले बताए। इस्मा गाउँपालिका–६ का किसान कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा क्षति भएको छ भने अर्का किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ। स्थानीयले भण्डारी यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित भएको बताएका छन्।