काठमाडौँ । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका ६० वर्षीय कृष्ण गौचनले थोरै लगानीबाट सुरु गरेको बाख्रापालन व्यवसाय अहिले आम्दानीको मुख्य स्रोत बनेको छ। विसं २०७४ मा मात्र ५२ हजार रुपैयाँको लगानीबाट सुरु भएको उनको व्यवसायले अहिले उनलाई स्वरोजगार मात्र बनाएको छैन, परिवारको जीवनस्तर समेत उकासेको छ।
गौचनले घुम्तीकोषको सहुलियत ऋण र व्यक्तिगत बीउपुँजी जोडेर तीन वटा माउ बाख्रा खरिद गरी व्यवसाय सुरु गरेका थिए। सुरुमा सानातिना समस्या आए पनि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पाएको 'बोयर' जातको बोकाले उनको गोठमा बाख्राको नश्ल सुधारमा ठूलो मद्दत पुर्यायो। अहिले उनको गोठमा बाख्राको सङ्ख्या १२० सम्म पुगेको छ।
हाल गौचनको 'लोकेश कृषि तथा बाख्रा फार्म' मा ७० वटा खसीबोका र पाठापाठीहरू छन्। उनले वार्षिक रूपमा १५ भन्दा बढी खसीबोका र सोही सङ्ख्यामा पाठापाठी बिक्री गर्दै आएका छन्। ग्राहकहरू खसीबोका र पाठापाठी किन्न गोठमै पुग्ने गरेका छन्। बाख्राको तौल र उमेरका आधारमा उनले फरक-फरक मूल्यमा बिक्री गर्ने गरेका छन्।
बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताए। यस व्यवसायमा उनलाई श्रीमती र छोरीले पूर्ण साथ दिएका छन्। बाख्रापालनकै कमाइले उनले कान्छा छोरालाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउन सफल भएका छन्। त्यस्तै, केही वर्ष पोर्चुगलमा काम गरेर फर्किएका उनका जेठा छोरा सुरेन्द्रले पनि अहिले बुबाको व्यवसायमा साथ दिइरहेका छन्। विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाए राम्रो प्रतिफल पाइने सुरेन्द्रको अनुभव छ।
गौचनले बाख्रा चराउनका लागि लमसुङ र मरेनी गरी दुई स्थानमा गोठ बनाएका छन्। चरनको उपलब्धता अनुसार उनले दुई-दुई महिनामा गोठ सार्ने गर्छन्। व्यवस्थित खोर निर्माणका लागि पछिल्लो समय भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उनलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको उनले बताए।