arrow

अपर ठूलोखोला आयोजनाको परीक्षण उत्पादन सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
upperthola.jpg

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्मित २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यस आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सम्पन्न भएपछि फागुन २९ गते साँझदेखि परीक्षणका लागि विद्युत् केन्द्रीय प्रणालीमा पठाउन थालिएको हो।

आयोजना प्रमुख शिवसागर यादवका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा गरिएको पाँच दिने परीक्षण सफल भएपछि विद्युत् जोडिएको हो भने अबको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ।

हाल सुक्खायाम भएकाले आयोजनाबाट १३.८६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। विसं २०८० बाट निर्माण सुरु भएको यो आयोजना भौगोलिक रूपमा अत्यन्तै विकट र दुर्गम क्षेत्रमा अवस्थित छ।

सुगुरथलामा बाँध र पानी थिग्राउने पोखरी निर्माण गरिएको छ भने २ हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरी फेदीमा विद्युत्गृह बनाइएको छ। दुईवटा टर्वाइन रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड समेत तयार पारिएको इन्जिनियर सञ्जीव न्यौपानेले जानकारी दिएका छन्।

नदीको बहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको यस आयोजनाको विद्युत् २३.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत दाना–खुर्कोट २२० केभी प्रसारण लाइनमा जोडिएको छ। करिब ५ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। बाँकी लगानीमध्ये १० प्रतिशत प्रवर्द्धकको रहनेछ भने २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गरेर जुटाइने योजना छ।

बेनीदेखि आयोजना स्थलसम्मको सडक स्तरोन्नति र पहिरोका कारण उपकरण ढुवानीमा केही समस्या भए पनि आयोजना सफलतापूर्वक सम्पन्न भएको हो। राहुघाट र यसका सहायक नदीहरूमा यसअघि नै चिमखोला–राहुघाट–मङ्गले, अपर राहुघाट र ठूलोखोला जस्ता आयोजनाहरू सञ्चालनमा आइसकेका छन् भने ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ