चुनाव जितेलगत्तै किताब बेच्न पोखरा पुगे सांसद महावीर पुन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
757
Shares
काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित महावीर पुन चुनाव जितेलगत्तै आफ्नो आत्मकथा बिक्री गर्न पोखरा पुगेका छन्। स्वतन्त्र उम्मेदवार बनेर भारी मतान्तरले विजयी भएका पुनले सोमबार पोखराको पृथ्वीचोक र महेन्द्रपुललगायतका क्षेत्रमा पुगेर किताब बिक्री गरे।
"एकैदिन ८०० पुस्तक बिक्री गरेर ६ लाख रुपैयाँ आम्दानी भयो," पुनले भने, "बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु।" पोखरामा उनीसँग फोटो खिच्ने, हस्ताक्षर लिने र किताब किन्नेहरूको ठूलो भिड लागेको थियो। राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन पुनले विगत तीन वर्षदेखि आफ्नो आत्मकथा देशका विभिन्न भागमा पुगेर बिक्री गर्दै आएका छन्।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर उनी जन्मथलो म्याग्दीमा चुनाव लड्न पुगेका थिए। गत भदौ २३ र २४ को 'जेनजी' आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बनेका थिए।
लोकप्रिय मतका साथ चुनाव जितेपछि समर्थकहरूलाई तडकभडक र विजयोत्सव नगर्न अनुरोध गर्दै पुन आफ्नै पुरानो दिनचर्यामा फर्किएका हुन्। उनले २२ हजार ८५० मत ल्याएर जित हासिल गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१० मत र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६ मत प्राप्त गरे। निर्वाचन आयोगले सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोग गर्न आफू पुस्तक बिक्रीमा निस्किएको पुनले बताए।