पहाडी तथा तराईका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
305
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।
हाल देशका अधिकांश भूभागमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ। विभागको मौसम बुलेटिनअनुसार आज दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान, मधेस प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।