म्याग्दी । गण्डकी प्रदेश सरकारको लगानीमा म्याग्दीका २४ ओटा पर्यटकीय स्थलमा यस वर्ष पूर्वाधार निर्माणका योजना सञ्चालनमा आएका छन् ।
बेनीस्थित एकीकृत सेवा कार्यालयमार्फत कार्यान्वयन भइरहेका ती योजनाका लागि प्रदेश सरकारले रु. एक करोड ४० लाख बजेट विनियोजन गरेको छ। कार्यालयका नायब सुब्बा सुवास सुवेदीका अनुसार हालसम्म तीन ओटा योजना सम्पन्न भइसकेका छन् ।
सम्पन्न भएका योजनामा बेनी नगरपालिका-९ का ढाडा पधेरा आरोटा, पाखाथर तथा रघुगंगा गाउँपालिका-३ को गलेश्वर-बगैचा पदमार्ग निर्माण रहेका छन् ।
यस्तै, अन्नपूर्ण गाउँपालिका-४ स्थित नारच्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ ।
अन्य योजनाहरू सर्वेक्षण, डिजाइन, लागत अनुमान, सम्झौता र कार्यान्वयनका विभिन्न चरणमा छन् ।
मालिका गाउँपालिका-७ को प्रभुचेला ध्यानाश्रम र बिम-डाडागाउँ पदमार्गका लागि रु. १०-१० लाख, मालिका-३ को लामखोरिया-डाडागाउँ र मालिका-४ को गौखोरे-मतौका पदमार्गका लागि रु. ६-६ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, चिमखोला-काली बराह पदमार्ग निर्माणका लागि रु. १० लाख तथा धवलागिरी गाउँपालिका-४ को खिवाङ-चेचुङ पदमार्गका लागि रु. आठ लाख बजेट छुट्याएर काम भइरहेको छ ।
बेनी नगरपालिकाका बराहपाखो पदमार्ग, लभ्लीडाँडा घेराबार, सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माणजस्ता योजना कार्यान्वयन चरणमा रहेका छन् ।
एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीका अनुसार जिल्लाभरका अधिकांश योजना उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेका छन् ।
मंगला गाउँपालिका, मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाका विभिन्न पदमार्ग तथा पूर्वाधार निर्माण योजना पनि कार्यान्वयनको चरणमा छन् भने केही योजनाका लागि उपभोक्ता समितिसँग सम्झौता भइसकेको छ ।
अन्नपूर्ण गाउँपालिकाका टिकोट-सोबन्ध, मारका, चित्रे-घान्द्रुक-देउराली तथा फगाम-सुवा-दुवारी-मतिचौर पदमार्ग निर्माणाधीन अवस्थामा छन् ।
कार्यालयका अनुसार हालसम्म पर्यटनसम्बन्धी १६ ओटा योजनासँग सम्झौता भइसकेको छ भने बाँकी योजनाहरू क्रमशः कार्यान्वयनमा ल्याइँदै छन् । रासस