arrow

म्याग्दी कोरिडोर १३२ केभी प्रसारण लाइन निर्माण शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
myagdi-prasaran-line.jpg

काठमाडौँ । म्याग्दी जिल्लाको धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदी क्षेत्रमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ प्रसारण लाइन आयोजनाको निर्माण कार्य शुरू गरिएको छ। 

निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाहरू—६५ मेगावाटको म्याग्दीखोला, ४६.२५ मेगावाटको माथिल्लो म्याग्दी र ५३.५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजनाले संयुक्त साझेदारीमा ‘डबल’ र ‘मल्टी’ सर्किटको यो प्रसारण लाइन बनाउन लागेका हुन्। धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनसम्म जोडिने यो प्रसारण लाइन १६.४८ किलोमिटर लामो हुनेछ भने यसमा कुल ५७ वटा टावरहरू निर्माण गरिनेछन्।

कुल ४२ करोड ६२ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट करिब १६४.७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका सञ्चालक पूर्णबहादुर पुनले जानकारी दिनुभएको छ। 

आयोजना निर्माणका लागि ८.४० हेक्टर निजी र २१.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ, जसमा सार्वजनिक वन प्रयोग गरेबापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने र निजी जग्गाको हकमा क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। आयोजनाले वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४१ लाख ७५ हजार रुपैयाँ र सामाजिक सहयोग कार्यक्रमका लागि २१ लाख ३१ हजार रुपैयाँ विनियोजन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साल चैत १२ गते प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची स्वीकृत भइसकेको यस आयोजनालाई आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलका अनुसार प्रभावित क्षेत्रका बासिन्दाको सुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माणको गतिलाई तीव्रता दिइनेछ। विसं २०८१ असोज ६ गते सर्वेक्षण अनुमति प्राप्त गरेको यो आयोजना समयमै सम्पन्न भएमा म्याग्दी नदी क्षेत्रमा उत्पादित ऊर्जाले राष्ट्रिय प्रणालीमा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ