arrow

म्याग्दीका सुवासले ११ वर्षपछि पाए नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
subash-myagdi.jpg

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–२ खबराका २७ वर्षीय सुवास घिमिरेले ११ वर्षको लामो प्रतीक्षा र सङ्घर्षपछि बल्ल नेपाली नागरिकता प्राप्त गरेका छन्। मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरे। बुवाको पहिचान नभएकै कारण सुवासले १६ वर्षको उमेरदेखि नै नागरिकता बनाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। नागरिकता प्राप्त भएपछि बल्ल आफू पूर्ण नागरिक भएको महसुस भएको प्रतिक्रिया दिँदै उनले ठुलो खुसी व्यक्त गरे।

सुवासलाई उनकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिएका छन्। नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नियमावलीको चौथो संशोधन, २०८२ मा भएको नयाँ व्यवस्था अनुसार उनले यो अधिकार पाएका हुन्। सुवासले यसका लागि तीन वर्षअघि नै सबै प्रक्रिया पुरा गरी आवेदन दिएका थिए। शारीरिक रूपमा अपाङ्गता समेत भएका उनी नागरिकता नभएकै कारण सरकारले दिने सामाजिक सुरक्षा भत्ता र बैङ्क खाता सञ्चालन गर्ने जस्ता आधारभूत सुविधाबाट लामो समयसम्म वञ्चित हुनुपरेको थियो।

सुवास र उनकी आमा हाल आफन्तको शरणमा बस्दै आएका छन्। उनकी आमाका अन्य दुई छोराले नागरिकता बनाइसकेका भए पनि साइला छोराले भने अझै नागरिकता पाउन सकेका छैनन्। नेपाल नागरिकता नियमावलीको पछिल्लो संशोधनले आमाको नामबाट नागरिकता लिने बाटो सहज बनाएपछि म्याग्दीमा सुवाससँगै अन्य केही व्यक्तिहरूले पनि यसअघि नै नागरिकता पाइसकेका छन्। अहिले पनि थप केही सेवाग्राहीहरूले आमाको नामबाट नागरिकता लिनका लागि आवेदन दिएका र ती आवेदनहरूको आवश्यक छानबिन गरी नागरिकता प्रदान गरिने प्रशासनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ