काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ५६५ जना र सशस्त्र प्रहरी बलको गलेश्वरस्थित गुल्मअन्तर्गत २९६ जना गरी कुल ८६१ जना छनोट भएका हुन्।
शारीरिक र लिखित परीक्षामा सफल भएका उनीहरूलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको छ। प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वैकल्पिक सूचीमा रहेका २८६ मध्ये २१२ जनालाई छिमेकी जिल्ला बागलुङ पठाइनेछ। छनोट भएकाहरूलाई आइतबारदेखि बेनी र दरवाङमा तालिम दिइने तयारी छ।
निर्वाचनको शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउन यी निर्वाचन प्रहरी खटिनेछन्। म्याग्दीमा ६ स्थानीय तह र ४५ वडा रहेका छन्, जहाँ कुल ८६ हजार ३९७ मतदाता छन्।
जिल्ला सुरक्षा समितिले ८२ वटा मतदानस्थलमध्ये ८ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ वटालाई सामान्य वर्गमा विभाजन गरी विशेष सुरक्षा रणनीति बनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सुरक्षा टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। जिल्लाभर १२० वटा मतदान केन्द्र कायम गरिएको छ।
यसपटक म्याग्दीको चुनावी मैदान निकै रोचक देखिएको छ। यहाँ एक स्वतन्त्र र ११ जना राजनीतिक दलका गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा देखिएका छन्।
सबैभन्दा बढी चर्चा भने स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका वैज्ञानिक महाविर पुनको छ। दलका हेभीवेट नेताहरू र सामाजिक क्षेत्रमा ख्याति कमाएका पुनबीचको यो भिडन्तले म्याग्दीको चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ।