arrow

म्याग्दीका पर्यटकीय क्षेत्र हिउँले सेताम्मे: पुनहिल र घोडेपानी सुनसान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
gurjey-ghodepani-snow.jpg

काठमाडौँ । म्याग्दीको उच्च हिमाली क्षेत्र गुर्जा र पर्यटकीय स्थल घोडेपानीमा बुधबार यस वर्षको दोस्रो पटक भारी हिमपात भएको छ। धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी सहितका क्षेत्रमा बिहानैदेखि हिउँ पर्न सुरु गरेपछि जनजीवन प्रभावित बनेको छ।

गुर्जाका वडा सदस्य गुनराम छन्त्यालका अनुसार समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडकहरू हिउँका कारण अवरुद्ध भएका छन्। करिब दुई इन्च बाक्लो हिउँ जमेपछि सर्वसाधारणहरू घरभित्रै आगो तापेर बस्न बाध्य छन् भने पशुचौपायालाई गोठमै सुक्खा घाँस खुवाएर राखिएको छ।

यसैगरी, म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्यहरू घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाँडा पनि हिउँले ढपक्कै छोपिएका छन्। हिमपात र चिसोका कारण पर्यटकको चहलपहल घटेपछि पर्यटकीय क्षेत्र सुनसान बनेको होटल व्यवसायी मिना पुनले बताइन्।

हिमपातसँगै जिल्लाभर भएको वर्षाले हिउँदे बाली लगाउने किसानहरूलाई भने ठूलो राहत मिलेको छ। लामो समयदेखिको सुक्खापछि परेको आकाशे पानी र हिउँले सिँचाइको काम गरेको मालिका गाउँपालिकाका कृषक भुपेन्द्र शर्माले बताए। यस वर्षाले गहुँ, जौ, केराउ र सुन्तला जातका फलफूल खेतीलाई निकै फाइदा पुग्ने र उत्पादन बढ्ने विश्वास किसानहरूले व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ