arrow

म्याग्दीका सुजन गौतमले अमेरिकाबाट अन्तरिक्ष विज्ञानमा गरे विद्यावारिधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
international-space-station-iss.jpg

काठमाडौँ। म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको अलाबामा राज्यस्थित ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शीर्षकमा गहन अनुसन्धान गरी यो सफलता प्राप्त गरेका हुन्। उनको अनुसन्धान सूर्यबाट निस्कने सौर्यवायु, त्यसमा हुने अस्थिरता र त्यसले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावसम्बन्धी वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ।

गौतमले अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’ मा विश्वप्रसिद्ध वैज्ञानिक प्राडा ग्यारी जैंकको निर्देशनमा आफ्नो शोध सम्पन्न गरेका हुन्। ग्रामीण क्षेत्रको सामान्य परिवारमा जन्मिएका गौतमले आफ्नो यो सफलतालाई कडा सङ्घर्ष, धैर्य र निरन्तर मेहनतको परिणाम बताएका छन्। उनले सूर्य र अन्तरिक्षमा हुने गतिविधिले पृथ्वीको उपग्रह प्रणाली, रेडियो सञ्चार र मौसममा प्रत्यक्ष असर पार्ने हुनाले सानैदेखिको रुचिका कारण यो चुनौतीपूर्ण क्षेत्र रोजेको उल्लेख गरे।

त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातक र स्नातकोत्तर तह पूरा गरेका गौतम सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका गएका थिए। अध्ययनकै क्रममा उनले अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूमा कैयौँ अनुसन्धानपत्र प्रकाशित गर्नुका साथै विभिन्न सम्मेलनहरूमा आफ्ना प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। उनको नेतृत्वमा यसअघि नेपालको पोखरा र काठमाडौँको वर्षाको तथ्याङ्कलाई सौर्य गतिविधिसँग जोडेर गरिएको अनुसन्धान प्रतिवेदन समेत प्रकाशित भइसकेको छ। आगामी दिनमा पनि अन्तरिक्ष मौसम र सौर्य आँधीका अनुत्तरित प्रश्नहरू सुल्झाउन आफ्नो अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ