म्याग्दी। बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्रे गरिएको छ। बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्मको ३३ किलोमिटरमध्ये २६ किलोमिटर सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ।
उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ। नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडको लागतमा कालोपत्र र ढलान भएको छ। राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु ६६ करोडको लागतमा काम सम्पन्न भएको छ।
त्यसैगरी, राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण गरिनुका साथै भुरुङ्गखोला र रुप्सेखोलामा बेलीब्रिज जडान भएका छन्।