दुर्लभ पन्छी 'चिरकालिज' को सङ्ख्यामा वृद्धि: १६ वर्षमा १८ जोडी फेला
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
1k
Shares
म्याग्दी। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या उल्लेख्य रूपमा बढेको नेपाल पन्छीविद् सङ्घको अध्ययनले देखाएको छ। सन् २००९ मा छ जोडी मात्र चिरकालिज रहेको मुस्ताङको थासाङ गाउँपालिकाका सातवटा स्थानमा १६ वर्षपछि गरिएको अध्ययनमा १८ जोडी भेटिएका छन्।
अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता विराट रजकका अनुसार, सन् २००९ पछि अध्ययन भएको थिएन र यसपालि कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको हो। सङ्ख्या वृद्धि हुनुमा समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण र खरबारी तथा पाखोबारीको वातावरण चिरकालिजको आहारा खोज्नका लागि अनुकूल बन्नुले सहयोग पुगेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
चिरकालिज समुद्री सतहबाट १,४०० मिटरदेखि ३,६०० मिटरसम्मको उचाइमा पाइने गर्छ। अनुसन्धानकर्ता केशव चोखालका अनुसार यो पन्छीको भालेको पुच्छर लामो, आँखाको रङ रातो र शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ, भने पोथी सानो हुन्छ। बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र ‘चिरचिर’ गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो।
‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यो पन्छीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए।
हाल मुस्ताङको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको थप अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा आएको छ। जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईका अनुसार, अध्ययनपछि प्राप्त हुने प्रतिवेदनका आधारमा संरक्षण कार्यक्रम गरिनेछ, जसले दुर्लभ पन्छी हेर्न आउने विदेशी पर्यटकको आगमन मार्फत स्थानीयस्तरमा रोजगारी र आयआर्जन वृद्धिमा सहयोग पुर्याउनेछ।