विदेशको सुखसुविधा छाडेर क्याप्टेन तिलिजा २४ वर्षपछि जन्मथलो स्वाँतमा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
1.1k
Shares
म्याग्दी। भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन बलबहादुर तिलिजा पुनले पोखराको सुखसुविधा र छोराछोरीहरू विदेशमा हुँदा पनि २४ वर्षपछि स्थायी रूपमा बसोबास गर्ने गरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख स्वाँतस्थित आफ्नो जन्मथलोमा फर्किएका छन्।
पोखराको रामबजारमा बस्दै आएका तिलिजाले श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र बुहारी कृष्णालाई लिएर गाउँ फर्किएका हुन्। उनका एक छोरा बेलायती गोर्खा सैनिक हुन् भने तीन छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन्।
बलबहादुरले पोखराको घर आफन्तको जिम्मा लगाएर गाउँ फर्कनुको मुख्य कारण पैसाले मात्र खुसी नहुने बुझाइ रहेको बताए। उनले भने, “स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो। बजारमा एउटै घरको ओल्लो, पल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन। गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जिवितै छ।”
तिलिजाले छोरा र बुहारीलाई विदेश जानबाट रोकेर गाउँमा फर्काएका छन् र उनीहरूलाई भुलाउन तथा यहाँ बस्ने आधार सिर्जना गर्न ‘प्यारामिड होटल’ सुरु गरेका छन्। दुई रोपनी पाखो सम्माएर होटलका संरचना तयार पार्न उनले रु १ करोड ८० लाख खर्च गरेका छन्।
गत हप्तादेखि सञ्चालन भएको यो होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ। यहाँ प्यारामिड शैलीका १३ वटा भवनहरू छन्। चिसो हुने र हिउँदमा पर्ने हिउँ छानोमा नथुप्रियोस् भनेर भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको डिजाइनअनुसार चुच्चो चुच्चो आकारको भवन बनाइएको सञ्चालक तिलिजाको भनाइ छ। होटलमा स्थानीय परिकारहरू जस्तै सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु तथा कोदो, मकैको ढिँडोसमेत उपलब्ध हुन्छ।
समुद्री सतहदेखि २,३०० मिटर उचाइमा रहेको स्वाँत, अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी–घोडेपानी अन्तर्गत शिखदेखि एक घण्टाको पैदल यात्रामा पुगिन्छ। स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ भने यहाँ इन्टरनेट र तातोपानीले स्नान गर्ने सुविधा पनि छ। यद्यपि, स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौँ र विदेशमा रहेकाले ७० घरमध्ये हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको शिखर आधारभूत विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताए।
बलबहादुरले "रित्तिदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको" भन्दै अरूलाई पनि गाउँ फर्कने सन्देश दिनु आफ्नो उद्देश्य रहेको बताए।