चार महिनापछि म्याग्दीको घ्याँसीखर्क र लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
1k
Shares
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ। गत असार महिनादेखि मलाङ पहिरो र दरखोलामा बाढीको सतह बढेका कारण यो सडक अवरुद्ध भएको थियो।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार दरखोलामा बर्खा रोकिएपछि पानीको सतह घटेको र ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको छ। दरखोलामा मोटरेबल पुल नभएकाले लुलाङ र गुर्जा गाउँ जोड्ने सडक बर्खायाममा हरेक वर्ष अवरुद्ध हुने गरेको छ।
त्यसैगरी, चिमखोला हुँदै घ्याँसीखर्क जोड्ने सडकमा राहुघाट नदीमा निर्माण भएका चिमखोला–राहुघाट–मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरी मलाङको पहिरो पन्छाएपछि यातायात सञ्चालन भएको हो।
स्थानीय तहहरूले म्याग्दीको विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको जनाएका छन्। यातायात सञ्चालन भएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषि र पशुजन्य वस्तु बिक्री गर्न सहज भएको छ।