arrow

अन्नपूर्णको फेदीमा लुकेको 'पञ्चकुण्ड ताल'

नयाँ पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको भीड, धार्मिक आस्था र हिमतालको सङ्गम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
panchkunda-taal.jpg

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पञ्चकुण्ड तालको लोभलाग्दो सौन्दर्यले यतिबेला पर्यटकलाई आकर्षित गरिरहेको छ। उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको यो गोलो आकारको हिमताल नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। आकाश खुल्दा तालको निलो पानीमा हिमालको छायाँ देखिनु, सूर्याेदयमा 'सुन' र रातमा जून चम्किँदा 'चाँदी' झैँ टलक्क टल्कनु यहाँको मुख्य विशेषता हो।

नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने 'मौरिस हर्जोग' पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकको रोजाइमा पर्न थालेको छ। इटालीकी पर्यटक निमाले वरपरका हिमाल र फेदीमा रहेको तालले आफूलाई मोहित र प्रफुल्लित बनाएको अनुभव सुनाउँदै यहाँको अलौकिक सौन्दर्यमा रमाउँदा सबै दुःख, कष्ट र तनाव भुलेर मनमा उमङ्ग छाएको महसुस गरेको बताइन्।

एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो। पञ्चकुण्ड ताललाई प्रकृति र संस्कृतिको सङ्गम मानिन्छ। पर्यटकहरू तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने, ध्यान गर्ने र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर तथा भिडियो खिच्ने गर्छन्।

दुई वर्षअघिसम्म सुनसान रहेको यो ठाउँ मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै चर्चामा आएको हो। पञ्चकुण्डमा होटल सञ्चालन गरेकी नारच्याङकी नरिमाया गर्बुजा गुरुङका अनुसार ताल अवलोकन गर्न हाल दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउन थालेका छन्। सामाजिक सञ्जालमा चर्चामा आएपछि यसपालिको दसैँ र तिहारको बीचमा आन्तरिक पर्यटकको थामिनसक्नु भीड लागेको र व्यवस्थापनमा समस्या परेको उनले बताइन्।

नारच्याङका चन्द्रजित पुनका अनुसार, पाँच वटा कुण्ड भएकाले यसको नाम पञ्चकुण्ड राखिएको हो। हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको उल्लेख छ, जुन अहिले हिउँ पग्लिएर एउटै बनेको विश्वास गरिन्छ। पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ।

पञ्चकुण्ड ताल पुग्न कालीगण्डकी करिडोरको बेलिब्रिज तरेर नारच्याङ बेँसी हुँदै हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा गाडीको यात्रा र त्यसपछि छ घण्टा पैदलयात्रा गर्नुपर्छ। हुमखोलादेखि पञ्चकुण्ड हुँदै अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गमा गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, आकाशे गुफाजस्ता आकर्षणहरू छन्। पञ्चकुण्डदेखि एक घण्टा पैदलयात्रा गरेपछि समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ।

पदमार्गमा अस्थायी संरचनामा सञ्चालित होटलमा खाना र बस्नको सुविधा छ, तर पर्यटकको चाप धेरै भएकाले पहिले नै बुकिङ गरेर आउन व्यवसायीहरूले अनुरोध गरेका छन्। पाहुनाको चापसँगै तालको सरसफाइमा चुनौती बढेको छ। साथै, पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्ने, बिजुली र सञ्चार सुविधाको अभाव रहेको जस्ता समस्याहरू छन्।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नपाए पनि अस्थायी संरचनामा खानेबस्ने व्यवस्था मिलाएर पदमार्ग सञ्चालन गरिएको जानकारी दिए। उनले अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित गराएर सङ्घीय सरकारले हिमाल आरोहणबापत दिने राजस्व (रोयल्टी) मा दाबी गरिएको समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ