म्याग्दी। दायाँ र बायाँ अग्ला पहाड, अन्नपूर्ण र निलगिरि हिमालबाट बगेको मिस्त्री खोलाको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित फुतफुते झरना अहिले पर्यटकहरूको आकर्षक गन्तव्य बनेको छ। ढुङ्गेधारा जस्तै देखिने यो मनमोहक झरना अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेश बिन्दुमै पर्दछ।
करिब ५० मिटर उचाइबाट कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झरनाको पानी झर्ने दृश्यले यात्रालाई रोमाञ्चक बनाएको छ। झरनाको फेदीमा बनेको गोलो आकारको निलो तलाउ विशेष मनमोहक छ। काठमाडौंका सुझाव आचार्यले फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोती खसेझैँ महसुस भएको बताए। अर्का यात्रु लक्ष्मण मर्हजनले फुतफुते झरनालाई अमेरिकाको ‘नाग्रा फल्स’ सँग तुलना गरे।
'मौरिस हर्जोग' पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि यो झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ। पदमार्गका अभियान्त तेज गुरुङका अनुसार सामाजिक सञ्जालमा भएको प्रचारका कारण दुई वर्षअघिसम्म सुनसान रहेको फुतफुते झरनामा अहिले दिनभर पर्यटकको चहलपहल हुने गर्छ। दसैँ यता दैनिक तीन सय जनाको अनुपातमा आन्तरिक पर्यटक भित्रिएको उनले बताए।
फुतफुते झरना पुग्न नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँड्नुपर्छ। अधिकांश पर्यटक फुतफुते झरना अवलोकन गरेर साँधीखर्क, गुफाफाँट हुँदै अन्नपूर्ण आधार शिविरतर्फ लाग्ने गर्छन्।
अन्नपूर्ण गाउँपालिकाले गत वर्ष झरना नजिकै आश्रय स्थल र सार्वजनिक शौचालय बनाएको अध्यक्ष भारतकुमार पुनले बताए। उनले फुतफुते झरना लगायत मौरिस हर्जोग पदमार्गको गुरुयोजना बनाएर पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको जानकारी दिए।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले झरना अवलोकन स्थललाई सुरक्षित बनाउन, झोलुङ्गे पुलको स्तरोन्नति गर्न र सुरक्षित दृष्य अवलोकन गर्ने ठाउँको आवश्यकता रहेको भन्दै यसको पूर्वाधार निर्माण र प्रवर्द्धनमा सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। झरनाको फेदीमा रहेको पोखरी मुनि काठको झोलुङ्गे पुलसमेत रहेको र त्यहाँ पर्यटकहरू घण्टौँ तस्बिर र भिडियो खिचेर रमाउने गरेको बताइएको छ। यद्यपि, दुर्घटनाको जोखिम भएकाले तलाउको नजिकै नजान र पौडी नखेल्न पर्यटकहरूलाई आग्रह गरिएको छ।