अन्नपूर्ण आधार शिविरमा पर्यटकको ओइरो: आवास व्यवस्थापनमा कठिनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
806
Shares
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर (एबीसी) मा रहेका होटल तथा रेष्टुरेन्टहरूको क्षमताभन्दा तीन गुणा बढी पर्यटक आएपछि आवास व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ।
८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविरमा टेन्ट र आश्रय स्थलको भवन गरी एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता छ। तर, दैनिक १५० जनाभन्दा बढी पर्यटकहरू आउन थालेपछि व्यवस्थापनमा कठिनाई भएको अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने हुँदा गत वसन्त यामदेखि गाउँपालिकासँग समन्वय गरेर टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ। अपेक्षितभन्दा धेरै पर्यटकको व्यवस्थापनका लागि टेन्टको संख्या थप गर्न लागिएको पुर्जाले जानकारी दिए।
आधार शिविरको भ्रमण गरेर फर्किएका बेनीका सन्दिप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जनासम्म सुत्नुपरेको अनुभव सुनाए।
आधार शिविरसम्म पुग्ने बाटोमा फुतफुते झरना, साधीखर्क, गुफाँफाँट, भुसकेट जस्ता स्थानमा स्थानीयबासीले गत वैशाख महिनादेखि स्थायी संरचना बनाएर सेवा दिन थालेका छन्। छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ। निलो रङ्गको पञ्चकुण्ड ताल, शान्त एकान्त वातावरण, हिमशृङ्खला यहाँका मुख्य आकर्षण हुन्।
यस पदमार्गको यात्रामा सञ्चार र विद्युत अभाव को समस्या कायमै रहेको छ। साथै, अर्का पदयात्री विशाल खत्रीले भुसकेटदेखि आधार शिविरसम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरूको आवश्यकता रहेको औँल्याए।
सन् २०७७ मा अन्नपूर्ण गाउँपालिकाले मौरिस हर्गोज पदमार्ग नामाकरण गरी खुलाएको यो बाटो फ्रान्सका मौरिस हर्गोजले ७५ वर्षअघि अन्नपूर्ण आरोहणका लागि प्रयोग गरेका थिए।
गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र ४,१०० मिटर उचाईमा रहेको आधार शिविरमा खुल्ला संग्रहालय स्थापना गरेको छ। एक्याप को सहयोगमा 'रेड वाटरफल' र सुनखोलामा काठको पुल निर्माण भएको र थप पूर्वाधार निर्माणका लागि पहल भइरहेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताए।