शरदयामको धौलागिरि आरोहण शुरु, छ जनाले गरे सफल आरोहण
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
926
Shares
म्याग्दी। विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमाल मा चालु शरदयामको आरोहण सुरु भएको छ। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित यस हिमालको आरोहण आइतबारदेखि सुरु भएको हो।
सभेन समिट ट्रेक्समार्फत आरोहणमा गएका स्पेन, चीन र फ्रान्सका एक/एक जना आरोहीले तीन जना नेपाली शेर्पाको सहयोगमा आइतबार धौलागिरिको सफल आरोहण गरेका छन्।
सेभन समिट ट्रेक्सका सञ्चालक मिङमा शेर्पाले दिएको जानकारीअनुसार, सफल आरोहण गर्ने टोलीमा विदेशी आरोही स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, र फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी छन्। साथै नेपाली शेर्पामा पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पा छन्।
मिङमा शेर्पाका अनुसार, '१४ शिखर अभियान' र 'सात शिखर पदयात्रा' का शेर्पाहरूको संयुक्त टोलीले शुक्रबार चुचुरोसम्म बाटो खोलेका थिए भने शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम सम्पन्न गरेका थिए।
पर्यटन विभागका अनुसार, यो शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन्। यी अनुमतिबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ।
धौलागिरि आरोहणलाई अन्य हिमालको तुलनामा जोखिमयुक्त र साहसिक मानिन्छ। छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको मुख्य चुनौती हो। गत २०२४ को शरदयाममा आरोहणको अनुमति लिएका १४ जना पुरुष पर्वतारोहीमध्ये रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो।
धौलागिरि हिमालको पहिलो सफल आरोहण सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले गरेको थियो।