म्याग्दी। विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ (मार्ग) तयार पारिएको छ। यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्दछ।
चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पा हरूले 'रुट' बनाएर चुचुरोसम्म 'रोप फिक्सिङ' (डोरी तानेको) जानकारी आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले दिएका छन्।
सङ्खुवासभाको मकालु गाउँपालिकाका टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको टोलीले बाटो बनाउने र डोरी तान्नुका साथै चालु शरदयाममा धवलागिरिको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ।
मिङ्मा शेर्पाले 'चौध शिखर अभियान' र 'सात शिखर पदयात्रा'का शेर्पाहरूको संयुक्त टोलीले चुचुरोसम्म मार्ग खोलेकोले यस सिजनमा सबै पर्वतारोहीका लागि धवलागिरि हिमाल पहुँचयोग्य भएको बताएका छन्। शेर्पाहरूले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि अब मौसम अनुकूल रहेमा एक–दुई दिनभित्र आरोहण टोली चुचुरोमा पुग्ने अपेक्षा गरिएको छ।
पर्यटन विभागका अनुसार शरदयाममा धवलागिरि आरोहणका लागि तीनवटा समूहका सात जना महिला र १७ जना पुरुषले अनुमति लिएका छन्। अनुमति लिएबापत राज्यले रु ५० लाख ७१ हजार सलामी दस्तुर सङ्कलन गरेको छ।
यसपालि आरोहण टोलीहरू धवलागिरि गाउँपालिकाको मुदीबगर हुँदै जाने पुरानो पदमार्ग बिग्रिएकोले मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर पुगेका हुन्।
धवलागिरि आरोहणलाई अन्य हिमालको तुलनामा जोखिमयुक्त र साहसिक मानिन्छ, जसको मुख्य चुनौती छिनछिनमा परिवर्तन हुने मौसम हो। यसअघि, सन् २०२४ को शरदयाममा आरोहणको अनुमति लिएका रुसका पाँच जना पर्वतारोहीको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो।
धवलागिरिको पहिलोपटक सफल आरोहण सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको नेतृत्वमा भएको थियो।