म्याग्दी। बेनी–जोमसोम–कोरला सडक सोमबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण आइतबार बिहानदेखि यो सडक अवरुद्ध भएको थियो।
घाँसा प्रहरी चौकीका प्रमुख, प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीका अनुसार, नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुप्रिएका ठूला ढुङ्गाहरू हटाइएको थियो। डोजरको सहायताले पहिरो पन्छाएर गए राति १० बजे सडक खुलाइएको हो।
सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्। सडक अवरुद्ध हुँदा कोरला नाकाबाट आएका कन्टेनरहरू, मुस्ताङको स्याउ र आलु बोकेका मालबाहक ट्रकहरू रोकिएका थिए। साथै, सोह्रश्राद्धका लागि कागबेनीमा पितृ तर्पण दिन आएका तीर्थयात्रीहरू पनि गन्तव्यतर्फ लागेका छन्।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाका नाका बन्द भएपछि दसैंका लागि आवश्यक सामान कोरला नाकाबाट ल्याउन थालिएकाले बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ।