म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रशोधन गरी बिष्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ। गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा यो उद्योग स्थापना गरेको हो।
परम्परागत बालीहरू जौँ, उवा, कोदो र फापरको पिठोबाट बिष्कुट बनाउने उद्योगको परीक्षण सफल भएको रघुगङ्गा गाउँपालिका-५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताएका छन्। हाल कोदोको बिष्कुट उत्पादन भइरहेको र अर्को चरणमा फापर, जौ र उवाको पनि बिष्कुट बनाउने तयारी रहेको उनले जनाए।
समुद्री सतहदेखि २,३०० मिटरको उचाइमा रहेको टोड्के सूर्योदय, हिमाल र पहाडी भूगोलको दृश्यावलोकनका लागि प्रख्यात छ। टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भिम शेरचनले यस उद्योगले स्थानीय किसानको उत्पादन खपत गर्नुका साथै टोड्केको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए।
रैथाने बालीको संरक्षण र बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारको ७५ लाख रुपैयाँ र रघुगङ्गा गाउँपालिकाको २५ लाख रुपैयाँको बजेटमा ‘झिँमा जौँ र उवा उत्पादन तथा ब्राण्डिङ’ परियोजना सञ्चालन गरिएको थियो। यस परियोजनामार्फत ३०० रोपनी जग्गामा जौँ र उवाखेती विस्तार गरिएको छ।
परियोजनाअन्तर्गत ७५ प्रतिशत अनुदानमा ६७ जना किसानलाई मिनिटेलर हलो, थ्रेसर मेसिन, कम्बाइन मेसिन, ब्रस कटर, कुकिज उत्पादन गर्ने मेसिन लगायतका विभिन्न कृषि उपकरण र सामग्री पनि वितरण गरिएको छ। यसले किसानलाई रैथाने बालीको खेती र उत्पादनमा सहयोग पुर्याएको छ। साथै, किसानहरूलाई परम्परागत बालीको महत्व र खेती प्रविधिसम्बन्धी तालिम पनि दिइएको छ।