म्याग्दी। म्याग्दीका दुई महत्त्वपूर्ण राजमार्ग, बेनी-जोमसोम र बेनी-दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन्। निरन्तरको वर्षासँगै आएको पहिरोले गर्दा यी सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
रघुगङ्गा गाउँपालिकाको माझखर्क, अन्नपूर्ण गाउँपालिकाको सुकेबगर र महभिरमा पहिरो खस्दा ७६ किलोमिटर लामो यो सडक अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ। यो सडकले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ।
बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा पहिरो गएकाले बेनी-दरबाङ सडक पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताएका छन्। यो सडकले म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्छ।
अवरोधका कारण ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने जनजीवन प्रभावित भएको छ। सडक खुलाउनका लागि सडक विभाग र पूर्वाधार विकास कार्यालयका डोजरहरू परिचालन गरिएका छन्।