arrow

प्रशस्त सम्भावना हुँदाहुँदै ओझेलमा जलजला क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
jaljala-myagdi.jpg

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जलजला क्षेत्र पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। पर्वतको जलजला र मोदी गाउँपालिका तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको यो क्षेत्रलाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर र मृगस्थली का रूपमा व्याख्या गरिएको छ।

कालीगण्डकी क्षेत्रको संस्कृति तथा सम्पदाका अध्येता प्रा. डा. जगन्नाथ रेग्मीका अनुसार, विभिन्न पौराणिक ग्रन्थमा यस क्षेत्रको प्रशंसा गरिएको छ, जहाँ ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए र यहाँका जडीबुटी औषधिका रूपमा प्रयोग हुन्थे। यहाँको भ्रमण गर्दा पुण्य मिल्ने र पिण्डदान गर्दा पितृहरूले सद्गति पाउने धार्मिक विश्वास छ। यद्यपि, प्रचारप्रसारको अभाव, सडक यातायातको असहजता र दुर्गम भौगोलिक अवस्थितिले गर्दा यो क्षेत्रको विकास हुन सकेको छैन।

जलजलामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका टीका पुन ले जलजलाको धार्मिक र प्राकृतिक सौन्दर्य स्थानीय स्तरमै सीमित रहेको गुनासो गरे। उनका अनुसार, यहाँ शरद र वसन्त ऋतुमा फाट्टफुट्ट पदयात्री र महायज्ञको समयमा भक्तजनहरू आउने गरे पनि अन्य समयमा यो क्षेत्र सुनसान रहन्छ। समुद्री सतहबाट ३,३०० मिटरको उचाइमा रहेको जलजलाको खोचबाट अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको मनोरम दृश्य देख्न सकिन्छ। यो क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ, जहाँ विभिन्न जडीबुटी र वन्यजन्तु तथा पन्छीहरू पाइन्छन्।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार, लेकफाँटसम्म कच्ची सडक पुगेको छ र यसको स्तरोन्नतिका लागि पहल भइरहेको छ। सङ्घीय सरकारले जलजलाको पर्यटन पूर्वाधारका लागि तीन करोड रुपैयाँको बजेट छुट्याएको छ। यस्तै, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मुस्ताङ र मुक्तिनाथका तीर्थयात्रीलाई जलजला भित्र्याउने लक्ष्यसहित धार्मिक करिडोरको अवधारणा अघि सारेका छन्। यसअन्तर्गत धाइरिङको भूमेथान, जलजला, फलामेडाँडा, मल्लाज र राममन्दिरलाई जोड्ने योजना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ