arrow

म्याग्दीको ऐतिहासिक जगन्नाथ मन्दिरमा रथयात्रा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
Myagdi-hamrakura.jpeg

म्याग्दी (बेनी। म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ। जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशीका अवसरमा यो रथयात्रा निकालिएको हो। यस क्रममा भगवान् जगन्नाथको मूर्तिलाई रथमा राखेर भक्तजनका लागि प्रत्यक्ष दर्शन गराइएको थियो।

जगन्नाथ मन्दिरको इतिहास तत्कालीन बाइसे चौबिसे राज्यकालका राजा दिलीपबम मल्ल सँग जोडिएको छ। राजा मल्लले विसं १५५० मा यो मन्दिर बनाएर भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर प्राणप्रतिष्ठा गरेको जनविश्वास छ। त्यसै बेलादेखि नै हरेक वर्ष श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन भगवान्को मूर्तिको रथयात्रा गर्ने र साफा (वस्त्र) परिवर्तन गर्ने चलन रहेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले बताए।

एक दिन मात्रै भगवान्को मूर्तिलाई प्रत्यक्ष दर्शन गर्न पाइने भएकाले यस दिन म्याग्दीका साथै छिमेकी जिल्ला पर्वतबाट समेत ठूलो संख्यामा भक्तजनहरू रथयात्रामा सहभागी भएका थिए।

रथयात्रामा सहभागी हुन पुगेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यस क्षेत्रको धार्मिक र ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै पूर्वाधार निर्माण र प्रचारप्रसारमा नगरपालिकाले पहल गर्ने बताए। उनले जगन्नाथ क्षेत्रलाई देश–विदेशमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेमा जोड दिए।

 

यस मन्दिरमा जगन्नाथ, डिम्ब महाराज, गणेशलगायतका विभिन्न देवीदेवताका मूर्तिहरू राखिएका छन्। यस क्षेत्रमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ। यहाँ पूजाआजा र दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ