म्याग्दी। धवलागिरि गाउँपालिकाको धवलागिरि माध्यमिक विद्यालय र हेम नमुना आवासीय मावि मा विद्यार्थी र शिक्षकहरूले तरकारी खेती शुरु गरेका छन्। 'धवलागिरिको इच्छा, गरिखाने शिक्षा' नामक कार्यक्रमअन्तर्गत यो अभियान शुरु गरिएको हो।
धवलागिरि माविले वार्षिक ५ हजार रुपैयाँ भाडामा लिएको दुई रोपनी जग्गामा तरकारी खेती गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक रूपेश सुवेदीका अनुसार, यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक र व्यावसायिक ज्ञान दिनु हो। खेतीमा उत्पादन भएको तरकारी छात्रावासमा प्रयोग गरिनेछ र बाँकी बिक्री गरी विद्यालयको कोषमा जम्मा गरिनेछ। हाल बन्दा, काउली, रायोसाग, मुला, गाजर र गोलभेँडाको खेती भइरहेको छ।
हेम नमुना आवासीय माविका ५० जना विद्यार्थीले पनि ६ रोपनी पाखो जग्गामा तरकारी खेती गरेर हराभरा बनाएका छन्।
यो कार्यक्रम सफल बनाउन धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्न सक्ने सीप सिकाउन यो कार्यक्रम सञ्चालन गरिएको बताए। गत वर्ष पनि ३ लाख रुपैयाँ विनियोजन गरिएको यो कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिइएको उनको भनाइ छ।