arrow

म्याग्दीमा मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
madhya-kaligandaki.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा जलविद्युत् उत्पादनका लागि पहिलो आयोजनाको निर्माण सुरु भएको छ। हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो।

आयोजनाको सिभिल ठेकेदार रसुवा-मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका-२ नागढुङ्गामा विस्फोटक पदार्थको प्रयोग गरी ४,३१९ मिटर लामो सुरुङ खन्ने काम सुरु गरेको छ। सुरुङ निर्माणका लागि अत्याधुनिक उपकरणहरू प्रयोग गरिएको छ। आयोजनाअन्तर्गत अन्नपूर्ण-३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइनेछ र नौनीबगरमा भूमिगत विद्युत्गृह निर्माण गरिनेछ।

यो आयोजना 'रन अफ द रिभर' प्रकृतिको हुनेछ र यसबाट उत्पादित बिजुली नौनीबगरदेखि ७ किलोमिटर माथि रहेको २२० केभीको सबस्टेशनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ। आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कुल १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नबिल बैंकको नेतृत्वमा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत प्रवर्द्धक र शेयर लगानीकर्ताबाट जुटाइनेछ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार, हिउँदयाममा प्रति युनिट रु. ८.४० र वर्षायाममा रु. ४.८० मा बिजुली खरिद-बिक्री हुनेछ। आयोजनाबाट हिउँदमा १.०९ अर्ब र बर्खामा १.३३ अर्ब रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

मध्य कालीगण्डकीबाहेक यस नदी बेसिनमा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाटको कालीगण्डकी गर्ज लगायत अन्य आयोजनाहरूको पनि निर्माणको तयारी भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ