म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम नमूना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीलाई हराभरा बनाउँदै उदाहरणीय तरकारी खेती गरेका छन्। झिनडाँडास्थित छात्रावास भवन परिसरमा रहेको विद्यालय र व्यक्तिको करिब ६ रोपनी पाखोबारीको झाडी फाँडेर उनीहरूले खनजोत गरी विभिन्न प्रकारका तरकारी लगाएका हुन्।
विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैं उत्पादन गर्ने र फुर्सदको समयको सदुपयोगका लागि यो खेती गरिएको जानकारी दिएका छन्।
उनले ’धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रमअन्तर्गत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरूले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाँडेको बताएका छन्। "विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्राबासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ," शिक्षक छन्त्यालले भने।
विद्यार्थीहरूले बिरुवा उत्पादनका लागि दुईवटा टनेल बनाएका छन्। पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउली लगायतका प्रजातिका तरकारी लगाएका छन्। करेसाबारीमा लोपोन्मुख तेलहन ’फिलिङ्गो’ पनि रोपिएको छ। कुल ६ रोपनी जग्गामध्ये ४ रोपनी विद्यालयको हो भने २ रोपनी वार्षिक ५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको छ।
विद्यालय समयपछि साँझ १ देखि २ घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीहरूले जीवनोपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ’रिफ्रेस’ महसुस गरेको प्रधानाध्यापक शेरबहादुर केसीले बताएका छन्। गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी बस्छन्।
प्रअ केसीले छात्रावासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाटै आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र भविष्यमा कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको बताए। करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए। गत वर्ष ३ लाख रुपैयाँ बजेट विनियोजन भएको यो कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले जानकारी दिएका छन्।