म्याग्दीको ओखरबोट तामाखानी उत्खननका लागि अध्ययन शुरु, स्थानीयमा उत्साह
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
616
Shares
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन शुरु भएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो। यो तामाखानी मालिका गाउँपालिका-३ र ४ को सिमानामा पर्दछ।
मालिका गाउँपालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार, भूगर्भविद्हरूको टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ।
कम्पनीले गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ गरी प्रभावित क्षेत्रका बासिन्दाहरूको सुझाव संकलन गरेको थियो। मंगलबार सात दिने सार्वजनिक सूचना पनि जारी गरेर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दा तथा संघसंस्थाबाट सुझाव माग गरेको छ। स्थानीयहरूले खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गर्दै वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाव दिएका छन्।
स्थलगत अध्ययनका लागि आएका भूगर्भविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान गरिने बताए। खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
मालिका गाउँपालिका-३ का ७२ वर्षीय विसराम पटेलका अनुसार, ओखरबोटको खानीबाट विसं २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो। प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको पटेलले बताए।
उनको सम्झनामा, तामाखानीमा दैनिक २०० भन्दा बढी कामदार खटिनुका साथै प्रत्येक दिन ७-८ धार्नीसम्म तामा निकाल्ने गरिन्थ्यो। तामाखानीमा दुई वटा मुहान छन्, जसको लम्बाइ २५० देखि ५०० मिटरसम्म रहेको छ। यहाँ अझैसम्म पनि तामाका घाउ (निशान) देख्न सकिन्छ, र २०० मिटरभित्रसम्म जान सकिने तामाखानीका शुरुङहरू छन्।