म्याग्दीमा राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
705
Shares
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ। तुदी पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यो आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र शुरुङलगायतका मुख्य भौतिक संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएसँगै विद्युत् उत्पादन थालिएको हो।
तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने जानकारी दिए। उनका अनुसार, अबको १५ दिनभित्र परीक्षणको काम सकिनेछ।
आयोजनाको बाँध रघुगङ्गा गाउँपालिका–८ बन्दीमा निर्माण गरिएको छ, जहाँ ११० मिटर लामो, ८ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी पनि छ। आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार, बाँधबाट ५ किलोमिटर ३०० मिटर लामो शुरुङ हुँदै ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्नका लागि ९५० मिटर पेनस्टक पाइपलाइन जडान गरिएको छ। विद्युतगृहबाट शुरुङको आउटलेटको उचाइ ३६० मिटर छ।
विसं २०७७ मङ्सिरदेखि निर्माण शुरु भएको यस आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हुन्। शुरुङ निर्माणका लागि चारवटा विभिन्न ठाउँबाट काम गरिएको थियो। माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकलले ठेकेदारका रूपमा काम गरेका छन्।
विद्युतगृहबाट रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ। यस प्रसारण लाइनमा ४९ वटा टावर रहेका छन्। आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिनेछ।
चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावरकै प्रवर्द्धनमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको कुल लागत १४ अर्ब रुपैयाँ रहेको छ। अपर राहुघाट पनि अहिले निर्माणको अन्तिम चरणमा छ।
चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो। राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २२.३ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न हुने चरणमा छन्।