माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्यमा तीव्रता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
617
Shares
बेनी (म्याग्दी)। म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण सुरु गरिएको छ। यो सँगै आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ।
आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७, भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो। सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गरेका छन्।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार, यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४, खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको थियो। अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ १ किलोमिटर ८६५ मिटर लामो हुनेछ। यस आयोजनामा बाँधबाट विद्युत्गृहसम्म कूल ५ किलोमिटर ७०० मिटर सुरुङ निर्माण हुनेछ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यो आयोजनाले धवलागिरि–४, खाम्लामा म्याग्दी नदीको पानी सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ। वि.सं. २०८० चैत १९ मा सम्झौता भई २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति, निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिए। आयोजनाले वि.सं. २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको छ।
हालसम्म छहरीको १९८.९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६.५४ मिटर लामो सुरुङ र अडिटबाट थप १ किलोमिटर २७०.६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ। आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।
आयोजनाको कूल लागत ११ अर्ब २३ करोड २७ लाख रुपैयाँ रहेको छ, जुन सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइनेछ। आयोजनाको विद्युत्गृह मालिका–७, भारवाङमा रहनेछ।
भारवाङबाट १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७, डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ।