म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा 'लिङ्गो जुधाउने' प्रतियोगिता सम्पन्न भएको छ। भूमेपूजाको अवसरमा स्थानीयवासीले यो अनौठो परम्परालाई निरन्तरता दिँदै आएका छन्।
मङ्गलबार मुन्का डाँडामा सम्पन्न भएको यस प्रतियोगितामा कान्छीगाउँ विजयी भएको छ। प्रतियोगितामा सयौँ स्थानीयवासीको सहभागिताले भूमेपूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले जानकारी दिए।
पुख्र्यौली सोरठी भाका र नाचका साथै पञ्चैबाजासहित भूमेपूजाको लिङ्गो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका करिब पाँच सय गाउँले उपस्थित थिए। वडाध्यक्ष गर्बुजाका अनुसार मौलिक ग्रामीण परम्परा भूमेपूजा र लिङ्गो जुधाएको हेर्न दग्नामीहरूको उल्लेख्य उपस्थिति थियो।
मङ्गलबार बिहान भूमेपूजा सम्पन्न भएपछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले सिङ्गारिएका अग्ला बाँसका लिङ्गो जुधाएका थिए। प्रकृति पूजाका रूपमा मगर समुदायले भूमेपूजालाई विशेष महत्त्व दिँदै आएका छन्। दग्नामवासीले हरेक वर्ष जेठको पहिलो वा दोस्रो मङ्गलबारका दिन बाढीपहिरो र प्राकृतिक प्रकोपबाट बाली जोगियोस् भन्ने कामनाका साथ भूमेपूजा गर्दै आएका छन्।