पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि, इन्टरमिलान निरीह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
954
Shares
काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।
फाइनलमा इटालियन सिरिए क्बल इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजी पहिलो पटक च्याम्पियन बनेको हो ।
फ्रेन्च लिग वान च्याम्पियन टोली पीएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए ।
हाकिमीले पहिलो हाफको १२ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए भने डुवेले २० औं मिनेटमा गोल गरेपछि पीएसजी दोब्बर गोलसहित अगाडि बढयो ।
उता डुवेले दोस्रो हाफको ६३ औं मिनेटमा अर्को गोल थपिदिए भने त्यसको १० मिनेटपछि नै क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई ४–० को फराकिलो बनाउन सफल भए ।
खेल सकिन केही समयअघि मैदानमा छिरेको ३ मिनेटमा नै मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौँ गोल गरेर पहिलो पटक पीएसजी च्याम्पियन बन्न सफल भएको हो ।
पिएसजीले यसपटक अन्तिम १६ मा इङ्गलिश च्याम्पियन लिभरपुललाई, क्वार्टरफाइनलमा अर्को इङ्गलिश क्लब एस्टन भिल्लालाई र सेमिफाइनलमा अर्को इङ्गलिश क्लब आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपछि पीएसजी च्याम्पियन्स लिग जित्न सफल भएको हो ।
यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यतिबेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएर दोस्रो स्थानमा चित्त बुझाउन विवश भएको थियो ।
आफ्नो पूर्व क्लबले उपाधि जितेपछि फ्रेन्च स्टार एमबाप्पेले बधाई दिएका छन् ।