काठमाडौँ । इटालियन सिरि ए क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न राउण्ड अफ १६ को दोस्रो लेगमा इन्टर मिलानले डच क्लब फेयनर्डलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्यो । योसहित इन्टर मिलानले पहिलो लेगमा २–० को अग्रताको आधारमा समग्रमा ४–१ गोल अन्तरको नतिजा हासिल गर्यो ।
खेलमा इन्टर मिलानको जितमा मार्कस थुराम र हकन कल्हानोग्लुले एक एक गोल गरेका थिए । त्यस्तै फेयनर्डका लागि एक गोल जाकुब मोडेरले गरेका थिए ।
यो हारसहित फेयनर्डको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ । अब क्वार्टरफाइनलमा इन्टर मिलानले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्ने छ ।
गएराति सम्पन्न राउण्ड अफ १६ को दोस्रो लेगमा बायर लिभरकुसनलाई २–० गोल अन्तरले पराजित गर्दै बायर्न समग्रमा ५–० को नतिजासहित क्वार्टरफाइनलमा पुगेको हो ।
बायर्न म्युनिखले बायर लिभरकुसनलाई पहिलो लेगमा ३–० ले पराजित गरेको थियो । दोस्रो लेगको खेलमा बायर्न म्युनिखको जितमा ह्यारी केन र अल्फोन्सो डेभिजले एक एक गोल गरेका थिए ।
यो हारसहित बायर लिभरकुसनको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।
क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ८ र दोस्रो लेग अप्रिल १५ मा हुने छ ।