काठमाडौँ । इङ्गलिश प्रिमियर लिग क्लब आर्सनल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल नजिक पुगेको छ । स्पेनिश क्लब रियाल मड्रिड विरुद्धको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा आर्सनल ३–० ले विजयी भएको हो ।
एमिरेट्सको घरेलु मैदानमा मंगलबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनललाई जिताउन डेक्लान राइसले दुई शानदार फ्रिकिक गोल गरे ।
राइसले ५८औं मिनेटमा पहिलो गोल गरे । ७०औँ मिनेटमा अर्को फ्रिकिक गोल गरे । त्यस्तै मिकेल मेरिनोले ७५औँ मिनेटमा आर्सनलका लागि तेस्रो गोल थपे।
इन्जुरी समयको चौथो मिनेटमा रियाल मड्रिडका मिडफिल्डर एडुआर्डो कामाभिङ्गा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए । योसँगै उनले दोस्रो लेग गुमाउने छन् । दोस्रो लेगको खेल अप्रिल १६ मा सान्टियागो बर्नाबाउमा हुनेछ ।
च्याम्पियन्स लिगको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब इन्टरसँग घरेलु मैदानमै पराजित भएको छ । बायर्नको मैदानमा गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्न २–१ ले पराजित भएको हो ।