एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, भेट पीएसजीसँग
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
778
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग क्लब एस्टन भिल्ला यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा बेल्जियन क्लब, क्लब ब्रुगलाई ३–० ले पराजित गर्दै एस्टन भिल्लाले समग्रमा ६–१ को नतिजासहित प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।
यसअघि राउण्ड अफ १६ को पहिलो लेगमा एस्टन भिल्ला ३–१ ले विजयी भएको थियो ।
यो जितपछि अब एस्टन भिल्लाले क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीको सामना गर्ने भएको छ ।
इङ्गलिश प्रिमियर लिग लिडर लिभरपुललाई हराउँदै पीएसजी अन्तिम आठमा पुगेको हो ।
पेनाल्टी सुटआउटमा पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस दोस्रो लेगमा पीएसजीले १–० को जित हासिल गरेपछि पहिलो लेगमा लिभरपुलको १–० को अग्रताको आधारमा समग्रमा १–१ को बराबरी भएको थियो ।
पीएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १–१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४–१ ले विजयी हुँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।
यो हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।
क्वार्टरफाइनलका खेलहरु पहिलो लेग अप्रिल ९ र दोस्रो लेग अप्रिल १५ मा हुने छन् ।