arrow

झलनाथले भने- क्रान्तिकारी भूमिसुधार बिना सुकुमवासी समस्या हुँदैन समाधान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
jhalnath-01-14.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुमवासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन्। आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएका र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुमवासी भएको प्रस्ट पार्दै उनले अहिलेको सरकारी कार्यशैलीको आलोचना गरे।

नेता खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति लक्षित गर्दै अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिएका छन्। बन्दुक र डोजरका भरमा ४० लाख भूमिहीन जनताको समस्या समाधान नहुने दाबी गर्दै उनले एकाध ‘हुकुम्बासी’ (पहुँचका भरमा जमिन ओगट्ने) लाई देखाएर वास्तविक सुकुमवासीलाई आतङ्कित पार्न नहुनेमा जोड दिए।

खनालका अनुसार सुकुमवासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका जिल्लाहरूमा सबैभन्दा गम्भीर छ। विशेष गरी दलित समुदायका ६० प्रतिशत जनता अझै पनि पूर्ण रूपमा भूमिहीन रहेको तथ्य उनले सार्वजनिक गरे। "नेपाल कृषिप्रधान देश भए पनि ग्रामीण क्षेत्रमा भूमिहीन र गरिब किसानको सङ्ख्या ठुलो हुनु विडम्बना हो," उनले टिप्पणी गरे।

१० वटा परिवारलाई मात्र व्यवस्थापन गरेर यो समस्या हल नहुने भन्दै खनालले समग्र स्वामित्व परिवर्तन गर्ने गरी क्रान्तिकारी भूमिसुधारको आवश्यकता औँल्याए। उनले पार्टीले यस विषयमा ठोस प्रस्ताव पारित गरेको र अब संसदीय दलमार्फत सरकारसँग निर्णायक छलफल गरिने जानकारी दिए। सडक आन्दोलनले मात्र सबै कुरा नहुने भएकाले संसद्बाटै कानुनी समाधान खोजिनुपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ