मुलुक निर्वाचनको तयारीमा देखिए पनि पूर्वाधार अभाव छ - झलनाथ खनाल
९० हजार गोली कब्जामा छन्, हतियार फिर्ता भएका छैनन्; यस्तोमा कसरी हुन्छ चुनाव?
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
1.9k
Shares
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा घोषित निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा र राजनीतिक पूर्वाधार अझै तयार भइनसकेको धारणा व्यक्त गरेका छन्। उनले भदौ २३ र २४ गतेको घटनापछि देशको परिस्थिति निकै भिन्न र संवेदनशील बनेको उल्लेख गर्दै निर्वाचन घोषणा हुनु सकारात्मक भए पनि व्यवहारमा चुनौतीहरू धेरै रहेको बताए। गत भदौको आन्दोलनका क्रममा ९० हजार गोली र महत्त्वपूर्ण हतियारहरू प्रदर्शनकारीको कब्जामा पर्नु तथा जेलबाट भागेका हजारौँ बन्दीहरू अझै पुनःस्थापित नहुनुले सुरक्षा अवस्थामा गम्भीर प्रश्न खडा गरेको उनको तर्क छ।
खनालले भदौ २३ गते 'जेनजी' पुस्ताले सुशासन र भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनलाई जायज र स्वागतयोग्य ठाने पनि २४ गतेको घटनालाई भने योजनाबद्ध 'महाविध्वंश' को संज्ञा दिएका छन्। उनले २४ गतेको घटनामा देशी-विदेशी षड्यन्त्रकारीहरूले राष्ट्रलाई ध्वस्त पार्न खोजेको र त्यसमा संलन्न मुख्य दोषीहरू अझै पक्राउ नपर्नु आश्चर्यजनक रहेको बताए। राजनीतिक दलहरूले निर्वाचनका लागि तयारी गरे पनि सुरक्षा निकायको खस्किएको मनोबल उठाउन र आम जनतामा निर्धक्क भोट हाल्ने वातावरण बनाउन सरकार असफल रहेको उनले आरोप लगाएका छन्।
पछिल्लो समय वैकल्पिक शक्तिका रूपमा चर्चामा रहेका बालेन्द्र शाह, रवि लामिछाने र कुलमान घिसिङको एकताप्रति टिप्पणी गर्दै खनालले ती शक्तिहरूसँग देशको आधारभूत समस्या समाधानका लागि कुनै स्पष्ट प्याकेज नभएको दाबी गरे। नयाँ भनिने पार्टीहरूमा कृषि क्रान्ति, औद्योगिकरण र रोजगारी सिर्जना गर्ने नीति र सिद्धान्तको अभाव रहेको उनको ठम्याइ छ। नेपालको औद्योगिक क्षेत्रको योगदान कूल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशतभन्दा तल झर्नुले देश 'अनऔद्योगिकरण' तर्फ गइरहेको बताउँदै उनले जबसम्म कृषिमा आधुनिकीकरण र स्वदेशमै रोजगारी सिर्जना हुँदैन, तबसम्म चुनावी परिणामले मात्रै देशको संकट समाधान नगर्ने स्पष्ट पारे।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि आफ्नो पार्टी सदैव तयार रहेको उल्लेख गर्दै खनालले यदि निर्वाचन हुने वातावरण बनेन भने राष्ट्रिय सम्मेलनमार्फत संविधान र संरचनामा सुधारको प्रतिबद्धतासहित संसद पुनःस्थापनाको विकल्पमा पनि बहस हुनुपर्ने धारणा राखे। उनले १७ वटा कम्युनिस्ट तथा प्रगतिशील समूहहरूबीच भएको एकतालाई एउटा उपलब्धिका रूपमा व्याख्या गर्दै नेकपा (एमाले) सहितका सबै बामपन्थी शक्तिहरू देशव्यापी मोर्चाबन्दीमा आउनुपर्नेमा जोड दिए। आफ्नो परिवारमाथि समेत आक्रमण भएको घटनालाई स्मरण गर्दै उनले डिजिटल प्रविधिको दुरुपयोग गरी समाजमा ज्येष्ठ नागरिकहरूप्रति घृणा फैलाउने पश्चिमा संस्कृति रोक्न र राष्ट्रियता सुदृढ गर्न समाजवादको बाटोमा लाग्नुको विकल्प नरहेको बताए।