arrow

सांसदहरूको प्रस्तुतिलाई तथ्यपरक बनाउन एमालेले विज्ञहरूलाई पनि समेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
uml-kk.jpg

काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा यससम्बन्धी कार्ययोजनाबारे जानकारी दिएकी हुन्।

उपनेता अर्यालले संसद्मा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनुपर्नेमा जोड दिइन्। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ‘फ्युजन’ (संयोजन) बाट पार्टीलाई सही मार्गनिर्देशन प्राप्त हुने उनले विश्वास व्यक्त गरिन्।

पार्टीले विज्ञहरूको रुचि र दक्षताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र सोही आधारमा विज्ञहरूको ‘रोस्टर’ तयार गर्ने प्रक्रिया सुरु गरेको छ। अर्यालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न ‘क्लस्टर’ (समूह) मा विभाजन गरिनेछ।

संसद्मा सांसदहरूले राख्ने धारणालाई थप ओजोनदार र तथ्यपरक बनाउन एउटा ‘इस्यु कलेक्सन सेन्टर’ (मुद्दा संकलन केन्द्र) समेत स्थापना गरिने जानकारी उनले दिइन्। उक्त केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न मद्दत पुर्‍याउनेछ।

उपनेता अर्यालले जनताका समस्या र आवाजलाई सरकारसम्म पुर्‍याउने, सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनामा पार्टीको स्पष्ट दृष्टिकोण निर्माण गर्ने र सरकारलाई आवश्यक खबरदारी गर्न यो कदम चालिएको स्पष्ट पारिन्।

राजनीतिक अनुभवबाट खारिएका नेतृत्व र अध्ययन–अनुसन्धानबाट विज्ञता हासिल गरेका बौद्धिक साथीहरूलाई एउटै स्थानमा जोडेर तथ्यमा आधारित विषय र जनसरोकारका मुद्दा संकलन गर्न छुट्टै संयन्त्र निर्माण गरिने उनको भनाइ छ।

उपनेता अर्यालले जनताको आवाज सरकारसम्म पुर्‍याउन र सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन एमालेको भूमिका प्रखर हुनुपर्ने बताइन्। पार्टी निर्माण र संसद्को प्रभावकारी भूमिकाका लागि विज्ञ साथीहरूको ज्ञान, अध्ययन र अनुसन्धानलाई उपयोग गर्न आवश्यक रहेको भन्दै उनले पार्टीको दृष्टिकोणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उल्लेख गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ