कांग्रेसले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाउने
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
446
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा पार्टीको नीति प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि पार्टीले तीन तहको सरकारको लागि स्पष्ट कार्ययोजना बनाई प्रदेश र स्थानीय तहमा पठाउनेसमेत बताए ।
उनले प्रदेश तथा स्थानीय तहमा नेपाली काँग्रेसको नेतृत्व वा प्रतिनिधित्व रहेकाले कार्ययोजना कार्यान्वयनमा समस्या नहुने तथा संघीय सरकारसमक्ष पनि पार्टीका सांसदमार्फत ध्यानाकर्षण गराउने बताए ।
थापाले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि गुणस्तरीय वन संरक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले वन्यजन्तुबाट प्रभावित नागरिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि ठोस छलफल आवश्यक रहेको बताए ।
सभापति थापाले राजनीतिक दलहरू ठूला राजनीतिक मुद्दामा केन्द्रित हुँदा नागरिकका दैनिक जीवनसँग जोडिएका यस्ता विषयले पर्याप्त प्राथमिकता नपाएकोतर्फ सबै गम्भीर हुनुपर्ने बताए ।