दीपक भट्टको गैरकानुनी सम्पत्ति लुकाउन मद्दत गरेको अभियोग
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणमा 'मतियार' बनेको आरोप, २० करोड ९० लाख बिगो दाबी
पूर्वअर्थमन्त्री पौडेलसहित १६ विरुद्ध पूरक आरोपपत्र
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
344
Shares
काठमाडौँ । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि दर्ता भएको प्रतिवादी दीपक भट्टसमेतको मुद्दामा थप अनुसन्धान गरी नयाँ प्रमाणका आधारमा यो पूरक आरोपपत्र दर्ता गराएको विशेष अदालतले जनाएको छ।
नयाँ आरोपपत्रमा पूर्वमन्त्री पौडेलसहित छ जना व्यक्ति र १० वटा निजी कम्पनी (प्रालि) गरी कुल १६ पक्षलाई प्रतिवादी बनाइएको छ। विभागका अनुसार प्रतिवादीहरूले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत ढाकछोप गर्ने वातावरण निर्माण गरिदिएर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मतियारको कसुर गरेको अभियोग लगाइएको छ।
यस प्रकरणमा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको छ। यसका साथै, पौडेलको एभरेष्ट बैंक लिमिटेडमा रहेको खाताको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा जफत गर्नसमेत विभागले अदालतसमक्ष माग गरेको छ।
यसअघि नै व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुख्य मुद्दा दर्ता भइसकेको अवस्थामा थप अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा विभागले यो नयाँ कदम चालेको हो। विशेष अदालतले पूरक आरोपपत्र दर्ता भएसँगै अब यस मुद्दाको सुनुवाइ अदालतको नियमित कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने स्पष्ट पारेको छ।