arrow

प्रतिपक्षलाई पेलेर जाने सरकार टिक्दैन : महासेठ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
mahashestha-raghubir.jpg

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई बेवास्ता गरेर वा दबाएर अघि बढ्ने सोच राख्ने सरकार धेरै समय टिकाउ नहुने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव महासेठले लोकतान्त्रिक सरकारले प्रतिपक्षसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए।

वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी कार्य हुन नसकेको सङ्केत गर्दै उनले सरकारले सबै दललाई मिलाएर लैजानुपर्नेमा जोड दिए। देश कुनै पार्टीको निजी सम्पत्ति नभई सार्वभौमसत्ता जनतामा निहित रहेको उल्लेख गर्दै उनले सुरुवाती सङ्केतहरूले सरकारले सबै पक्षलाई साथमा लिएर हिँड्नुपर्ने आवश्यकता देखाएको स्पष्ट पारे।

मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतबारे टिप्पणी गर्दै उपमहासचिव महासेठले मधेसी जनताले विश्वास गरेर पठाएकाले रास्वपाले पनि मधेसको भावना र अपेक्षाअनुकूल काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए। जनताले दिएको विश्वासअनुसार काम हुन नसके त्यस्तो विश्वास फिर्ता हुन सक्ने भन्दै उनले सचेत गराए।

सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको महासेठले कडा आलोचना गरे। साउन १ गतेदेखि लागू हुने गरी जग्गा खरिद–बिक्री दुवै पक्षले कर तिर्नुपर्ने व्यवस्था र शिक्षा–स्वास्थ्यमा थपिएको करको भारले सर्वसाधारण नागरिक ठूलो आर्थिक मारमा परेको उनको दाबी छ। जनताको आधारभूत आवश्यकतामा कर बढाउनु न्यायोचित नभएको भन्दै उनले सरकारलाई यी निर्णयहरूमा पुनर्विचार गर्न माग गरे।

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले देशको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गरे। वर्तमान विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू, विशेष गरी इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको असर नेपालको अर्थतन्त्रमा पनि प्रत्यक्ष रूपमा परेकाले सरकार जनहितका मुद्दामा थप गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ