मुलुकमा परिभाषाविहीन र थितिविहीन राजनीति भइरहेको ओलीको टिप्पणी
सामाजिक सञ्जालले विकृति फैलायो
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
556
Shares
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको टिप्पणी गरेका छन्। आइतबार पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था र सामाजिक सञ्जालको बढ्दो विकृतिप्रति कडा आलोचना गरेका हुन्।
लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय बाटाहरू हुने स्पष्ट पार्दै उनले वर्तमान सरकारको प्रारम्भ नै षड्यन्त्र र हिंसात्मक गतिविधिबाट भएको आरोप लगाए। लोकतान्त्रिक पद्धतिमा हिंसा, आगजनी, तोडफोड र असंवैधानिक कुराहरू स्वीकार्य नहुने भन्दै उनले अहिलेको राजनीतिक दिशाहीनतातर्फ गइरहेको दाबी गरे।
अध्यक्ष ओलीले राजनीतिक र सामाजिक क्षेत्रमा लोकप्रियता हासिल गर्ने नाममा ‘पपुलिज्म’ को भद्दा अभ्यास भइरहेको टिप्पणी गरे। आफूलाई लोकप्रिय देखाउनका लागि गरिने यस्ता सस्ता र कृत्रिम प्रयासहरूले समाज र राजनीतिमा गम्भीर विकृति बढाएको उनको भनाइ छ।
पछिल्लो समय सामाजिक सञ्जालले असामाजिक ढंगले काम गरिरहेको र समाजमा भयानक विकृति फैलाइरहेको ओलीले उल्लेख गरे। सञ्जालबाट स्वस्थ बहसहरू हुन सक्ने सम्भावना भए पनि दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण यो संयन्त्र दुरुपयोग भइरहेको उनले बताए। कोही पनि जिम्मेवार हुनु नपर्ने अवस्थाको फाइदा उठाउँदै निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे।