arrow

झलनाथ खनाल दम्पती भन्छन् - सरकारमा मानवता छैन, विवेकहीन छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
jhalanath-rabilaxmi.jpg

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ ।

गत भाद्र २४ गतेको जेन-जी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन्। अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छन् ।

उक्त आन्दोलनमा जेन-जीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन् ।

उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरूको होस यस्तो खाले आक्रमण हुनु जंगली पारा भएको बताइन्। जेन-जी आन्दोलनको नाममा नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भएको उनको ठम्याई छ ।

‘जेन-जी आन्दोलन त निउ मात्रै हो। जेन-जीहरूले घटना घटाएकै होइन, जेन-जीहरू प्रयोग भएका हुन् । रियल जेनजी यस्ता अमानवीय हुँदैनन् । उनीहरूको नामबाट अरुले खेल खेले । राजनीतिबाट टाढा भएकाले होस् या राजनीतिमै संलग्न भएकाले होस त्यस्तो आक्रमण गर्ने यो जंगली नियम लागू गर्न हुँदैन् । एकदम दुःखद् घटना हो। मलाई मात्रै होइन, देशकै दुःखद् घटना हो । काठमाडौँभित्र वा बाहिर, देशभरी नेपाललाई ध्वस्त पार्ने कार्यक्रम गरियो । जसले घटायो नेपाललाई असफल राष्ट्र बनाउने र विदेशी सेनाले जे-जे गर्न मन लाग्छ गर्ने त्यही प्रयास हो ।’

घट्नालाई स्मरण गर्दै भनिन्, ‘जुन दिन घटना घटाइयो त्यसबेला खाना खाएकै थिइन् । किचनको वरपर थिए । एक्कासी बाहिरबाट ढुंगा हानियो, चारैतिरबाट ढुंगा हान्ने बित्तिकै हामी छलेर बसिराखेको थियौँ । ढुंगा सँगसँगै एकैछिनमा धुँवाको मुस्लो आयो, मुस्लो यति तातो थियो कि तत्कालै मेरो हातमा पीडा दियो, अनि सास फेर्न धेरै गाह्रो भयो। झ्याल खोज्दै दौडिदा त्यहाँ नपुग्दै ढलेछु । त्यसपछि अरु के भयो थाहा भएन्, अचेत भएछु ।’

त्यस्तै उनले विभिन्न ठाउँमा आगलागी भएको र आफ्नो घरमा पनि आक्रमण हुन सक्ने पूर्व जानकारी कतैबाट नपाएको बताइन् ।

‘आक्रमण हुँदैछ भन्ने थाहा भएन, त्यसको जानकारी केही भएन । त्यही कारणले पनि होला, यसरी आक्रमण भयो अनि यस्तो परिणाम भोग्नुपर्यो,’ उनले भनिन् ।

पूर्वमन्त्री खनालले वर्तमान सरकारले चित्रकारको उपचार गर्ने त के उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी नलिएको भन्दै गुनासो व्यक्त गरे । वर्तमान सरकारमा सामान्य विवेक र मानवीयता नदेखिएको उनले बताए ।

‘चित्रकार भदौ २४ गतेका घटनाक्रमबाट घाइते भएकी मान्छे हो कि होइन, यो देशको सरकारलाई थाहा छ? सुशीला कार्कीले नेतृत्व गरेको सरकारलाई थाहा छ ? घाइते हुन् कि होइनन् उनी घाइतेहरूलाई या निरीक्षण गर्न भनेर विभिन्न ठाउँमा गइन् तर चित्रकार घाइते हुन् कि होइनन् चासो गरिएन् । उनले उपचार पाउनुपर्छ कि पर्दैन यो गम्भीर प्रश्न हो । पूर्वप्रधानमन्त्रीले चाहीँ आफैँ उपचार गर्नुपर्छ र सरकारको केही जिम्मेवारी छैन ?’, उनले भने,‘ यो राज्य जेनजीका नायकहरूको मात्रै हो र ?’

‘सरकारमा सामान्य विवेक, सामान्य मानवता, मानवीयता त्यो कुरा पनि मैले देखिरहेको छैन । कुनै सोधपुछ वा खोजीनीति छैन। आश्चर्य लागिरहेको छ । कस्तो सरकार भएको देशमा बसिरहेका छौँ हामी ?’ उनले प्रतिप्रश्न गरे ।

त्यस्तै उनले आफूहरूमाथि हमला गर्नेहरू देशकै शत्रु र अपराधी रहेको भन्दै कारबाहीको माग गरे ।

‘ती ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न सारा तीन करोड जनताको प्रश्न हो,’ उनले भने ।

‘ती अपराधी हुन्, जल्लादहरू हुन्, देशका शत्रुहरू हुन्, जसले निर्दोष मानिसहरूमाथि निर्मम ढंगले हमला गरेका छन्, अपराध गरेका छन् । हाम्रो ज्यान लिन खोजिएको थियो । मेरो श्रीमतीलाई अहिले बचाएर ल्याएको छु तर उनीहरूले ज्यान लिन खोजेका थिए । ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन ?’ खनालले प्रश्न गरे ।

उनले श्रीमती चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी समेत दिएका छन् ।

‘साँढे तीन महिनासम्म उपचार गरेर ल्याएको छु, अहिले अलिक रिकभरी हुँदैछ, अवस्था ठीकै छ तर हात नै गुमाउनुपर्यो । एउटा हात आफैँ समस्यामा थियो, दाहिने अझै चल्न सकेको छैन । केही समाउनै सक्दैन। कति समयपछि ठीक हुन्छ अहिले भन्न सकिँदैन । फेरि थेरापी गर्दै ठीक ठाउँमा ल्याउन सकिन्छ कि भनेर प्रयत्न भइरहेको छ। हरेक दिन ज्वरो आउँछ र जलनका बिमारीहरूलाई ज्वरोले पनि सताउने रहेछ । फेरि पनि इन्फेक्सन हुन्छ कि भन्ने डर छ । दुईटै हात नचलेपछि जीवन कस्तो होला, मानसिक आघातको कुरा कल्पना पनि गर्न सकिँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ