मान्छे होइन उत्पादन निर्यात गरे मात्रै देश बन्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
243
Shares
काठमाडौँ । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले वर्तमान सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढिरहेको अनुभूति भएको बताएका छन्। उनले अर्थतन्त्र सुदृढ नभएसम्म देशको समग्र विकास सम्भव नहुने धारणा व्यक्त गरेका छन्।
मंगलबार सरकारसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पाण्डेले सरकारले निजी क्षेत्रका सुझाव सुन्ने र उद्योग व्यवसाय प्रवर्द्धन गर्ने प्रतिबद्धता देखाएको बताए।
उनले देशको समृद्धिको आधार उत्पादन र निर्यात भएको उल्लेख गर्दै जनशक्ति विदेश पठाएर मात्र आर्थिक विकास सम्भव नहुने बताए।
“सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ। अर्थतन्त्र सुधार नगरी देश बन्दैन। मान्छे निर्यात गरेर होइन, उत्पादन गरेका वस्तु निर्यात गरेर मात्र देश समृद्ध बन्छ,” उनले भने।
पाण्डेले उत्पादनमूलक उद्योगको विस्तारलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
उनले तयारी पोशाक उद्योग संघले विगत चार वर्षदेखि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले उक्त उद्योग आफैं सञ्चालन गर्ने निर्णयलाई सकारात्मक र स्वागतयोग्य कदमको संज्ञा दिए।
उनका अनुसार हेटौँडा कपडा उद्योग सञ्चालनमा आए स्वदेशी उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास निजी क्षेत्रले गरेको छ।