जनवाचा पूरा गर्दै सुनील शर्माले उद्घाटन गरे मोटरेबल पुल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
451
Shares
मोरङ। चुनाव जित्नु मात्र जनप्रतिनिधित्वको मापदण्ड होइन, जनतासँग गरेको वाचा पूरा गर्नु नै राजनीतिज्ञको वास्तविक परीक्षा हो। यही सन्देशलाई व्यवहारमा उतार्दै नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनील शर्माले मोरङको सुनझोडा खोलामाथि आफ्नै पहलमा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुलको रिबन काटेर उद्घाटन गरेका छन्।
पथरीशनिश्चरे नगरपालिका-२ र उर्लाबारी नगरपालिका-३ लाई जोड्ने करिब ३० मिटर लामो पुल निर्माण सम्पन्न भएपछि दशकौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीमा अहिले राहत र खुसी छाएको छ।
वर्षायाममा खोला तरेर विद्यालय पुग्नुपर्ने विद्यार्थी, उपचारका लागि अस्पताल जान संघर्ष गर्नुपर्ने बिरामी तथा व्यापार-व्यवसायका लागि दैनिक आवतजावत गर्ने सर्वसाधारणका लागि यो पुल नयाँ आशाको आधार बनेको छ। स्थानीयवासीका शब्दमा, "अब यो पुलले बाटो मात्र जोडेको छैन, हाम्रो दुःख पनि अन्त्य गरिदिएको छ।"
यो पुल निर्माणका लागि डा. शर्माकै पहलमा संघीय सरकारको सहरी विकास मन्त्रालयबाट आठ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। निर्माणको ठेक्का विराटनगरस्थित कार्की बन्धु कन्स्ट्रक्सन प्रालिसँग पाँच करोड ६८ लाख ९४ हजार रुपैयाँमा सम्झौता गरिएको थियो। डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरू भएको आयोजना सफलतापूर्वक सम्पन्न भएको हो।
विशेष कुरा के छ भने, २०८२ साल जेठ १७ गते शनिबार डा. शर्माले यही पुलको शिलान्यास गरेका थिए। शिलान्यासका क्रममा स्थानीयसँग गरेको प्रतिबद्धता पूरा गर्दै आइतबार उनैले निर्माण सम्पन्न पुलको उद्घाटन गरे। एउटै नेताले शिलान्यास गरेको आयोजना आफैँले सम्पन्न गराएर उद्घाटन गर्नु स्थानीयका लागि विश्वास र उत्तरदायित्वको दुर्लभ उदाहरण बनेको छ।
उद्घाटन समारोह स्थानीयवासीका लागि उत्सवझैँ बन्यो। बिहानैदेखि फूलमाला र उत्साहपूर्ण सहभागितासहित स्थानीयले शर्माको भव्य स्वागत गरेका थिए।
करिब तीन दशकदेखि स्थानीयको प्रमुख आवश्यकता मानिएको पुल निर्माण भएपछि सुनझोडा किनारका बस्तीमा खुसीको लहर फैलिएको थियो।
स्थानीयका अनुसार पुल नहुँदा वर्षायाममा खोला पार गर्नु अत्यन्त जोखिमपूर्ण थियो। बिरामीलाई अस्पताल पुर्याउन, औषधि ल्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक व्यापार-व्यवसाय सञ्चालन गर्नसमेत ठूलो सास्ती व्यहोर्नुपर्थ्यो। अब भने स्वास्थ्य सेवा, शिक्षा, बजार तथा दैनिक जीवनयापनमा सहज पहुँच स्थापित भएको उनीहरूको भनाइ छ।
नेपाली कांग्रेसका नेता तथा भूमि आयोगका पूर्वअध्यक्ष वसन्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका वडासभापति लोकनाथ अधिकारीले सभापतित्व गरेका थिए।
कार्यक्रममा पथरीशनिश्चरे-२ का वडाध्यक्ष नैना राई, उर्लाबारी-३ का वडाध्यक्ष भीष्म बुढाथोकी, समाजसेवी रुपनारायण भट्टराईलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
पुल उद्घाटनपछि कांग्रेस नेता शर्माले आफ्नो बाल्यकाल स्मरण गर्दै खाली खुट्टा सुनझोडा खोला तरेर हिँड्नुपरेका दिनहरूको अनुभव सुनाएका थिए। उनले विकासको वास्तविक अर्थ नागरिकको दैनिकी सहज बनाउनु भएको बताए ।
निर्वाचनमा पराजित भएपछि धेरै नेताहरू जनताबाट टाढिने आरोप लागिरहँदा शर्मा भने निरन्तर जनतामाझ सक्रिय रहँदै आएका छन्।
स्वास्थ्य उपचारको पहुँचबाट वञ्चित नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउने, आकस्मिक स्वास्थ्य सहयोग उपलब्ध गराउने तथा खानेपानीको समस्या भएका बस्तीमा इनार निर्माण गरिदिने जस्ता सामाजिक अभियानमा उनी निरन्तर क्रियाशील छन्। सुनझोडाको यो पुल पनि त्यही प्रतिबद्धताको अर्को उदाहरणका रूपमा स्थानीयले लिएका छन्।
यो पुलले खोलाका दुई किनार मात्र जोडेको छैन, जनतासँग गरिएको वाचा पनि पूरा गरेको छ। राजनीतिको मूल्य चुनावी परिणामले मात्र होइन, जनताप्रतिको जिम्मेवारी र प्रतिबद्धताले निर्धारण हुन्छ भन्ने सन्देश सुनझोडामाथि बनेको यो पुलले फेरि एकपटक स्थापित गरेको छ।